सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अपहेलना निवेदनमा लिखित जवाफ मागेको छ।
बालेनविरूद्ध परेको निवेदनको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको थियो।
अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरूद्ध निवेदन दिएकी थिइन्।
मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए।
हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन,’ उनले भनेका थिए।
0 Comments